पर्साको वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कारागारमा रहेका एक महिलासहित आठ जना कैदीबन्दी, तीन जना सुरक्षाकर्मी र दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कारागारका २२ जनाको स्वाब संकलन गरी नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कैदी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई समेत कोरोना संक्रमण पुष्टि भएपछि कारागार परिसरमै कैदी र कर्मचारीका लागि छुट्टाछुट्टै आइसोलेशन कक्ष तयार पारेर कारागारकै स्वास्थयकर्मीबाट उपचार सुरु गरिएको छ ।
उपचारमा खटिएका स्वास्थ्यकर्मी दीपकप्रसाद यादवका अनुसार संक्रमण देखिएका कैदीबन्दीमध्ये ७५ वर्षीय एक बृद्धलाई दमको तथा ७० वर्षीय अर्का वृद्धलाई मुटुको समस्या छ । उनहरुलाई श्वास फेर्न गाह्रो भैरहेको यादवले बताए । यादवका अनुसार १२ वटा ब्लकमा करिव १२ सयकै संख्यामा कैदिबन्दी छन्। जुन ब्लकमा संक्रमित भेटिए त्यही ब्लकका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने भनिए पनि हालसम्म नभएको उनले बताए ।
कर्मचारी, प्रहरी र कैदीबन्दीलाई कोरोना संक्रमण भेटिएपछि कारगार सील गरिएको छ ।