पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
मृत्यु हुनेमध्ये एकजना मोरङका ४५ वर्षीय पुरुष हुन् । डा. गौतमले दिएको जानकारी अनुसार उनलाई ज्वरो र स्वासप्रस्वासको समस्या रहेको थियो ।
उनलाई बुधवार विराटनगरबाट बीपी कोइराला अस्पताल धरान लगिएको थियो । त्यहीं उनको कोरोना परीक्षण पोजिटिभ देखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा बुधवार अपराह्न उनको मृत्यु भएको हो ।
त्यस्तै कोरोनाका कारण मृत्यु हुने अर्का ७० वर्षीय पुरुष वीरगंज महानगरपालिकाका हुन् । उनमा मुटुरोग तथा मधुमेहसमेत रहेको डा. गौतमले बताए ।
उनलाई वीरगंजको एक निजी अस्पतालमा निमोनिया देखिएको थियो । साउन ८ गते नारायणी अस्पतालमा भर्ना गरिएका उनको पनि बुधवार नै कोरोना पुष्टि भएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमध्ये अर्का एकजना पर्सा जिल्लाका ६८ वर्षीय पुरुष हुन् । उनमा गत ७ गते कोरोना पुष्टि भएको थियो । बुधवार बिहान ३ बजे उनको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनी मिर्गौला रोगी पनि थिए ।