logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्वारेन्टिनमा सर्पले डसेका युवकको उपचारको क्रममा मृत्यु


अंकुरण खबर
650
Shares

क्वारेन्टिनमा बसेका बेला विषालु सर्पले डसेका कैलालीका एक युवकको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका-४ का २२ वर्षीय युवक रहेका छन् ।

भारतबाट आएर जेठ २६ गतेदेखि उनी गौरीगंगा-४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बसेका थिए । उनलाई असार १२ गते बिषालु सर्पले डसेको थियो ।

उपचारको क्रममा बिहीबार नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले बताइन् ।

युवकलाई उपचारका लागि सुरुमा परिवारले धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगेका थिए । तर, त्यहाँ भेन्टिलेटर सहितको बेड खाली नभएपछि नेपालगन्ज लगिएको हो ।

उपचारको क्रममा युवकको मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले विरोध जनाएका थिए । नगरपालिकाको लापरबाहीले युवकको मृत्यु भएको भन्दै स्थानीयले आन्दोलन नै गरेपछि पीडित परिवारलाख ६ लाख रुपैयाँ दिने सहमति भएको हो ।

उपचारमा ५ लाख बढी खर्च भएको  र १ लाख क्रिया खर्च भनेर दिने निर्णय सहमति भएको छ ।