विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ ।
समुदायस्तरमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।
नगरस्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उनले बताए ।
महानगरपालिकाले लकडाउनअवधिभर सबैलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेको छ । र शंका लागेमा परीक्षण गराउन समेत आग्रह गरेको छ ।
यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।