नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
दुई देशबीच सम्वन्ध स्थापना भएको दिनको रुपमा अगष्ट एकमा दुबै देशले विभिन्न कार्यक्रम गर्दैछन् ।
दिवसका अबसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन । चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गरेकी छन् ।
उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोरोना भाइरसको महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छन् ।