विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विदेशमा रहेका १ सय ८९ नेपालीको मृत्यु भएको छ ।
यो साता मात्रै थप २८ जना नेपालीको मृत्यु भएसँगै कोरोनाबा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ८९ पुगेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ । भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र मृत्युदर पनि बढीरहेको एनआरएनएले जनाएको छ ।
अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ दिल्लीमा कार्यरत डा सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको पुष्टि यो साता भएको हो ।
यस्तै यही साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ। यहि साता साउदी अरबमा पनि २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।