काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्न प्रस्ताव गरेको छ ।
मन्त्रालयले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागू गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)समक्ष प्रस्ताव गरेको हो ।
मन्त्रालयका एक अधिकारीका अनुसार अहिले उक्त प्रस्ताव सिसिएमसीमा विचाराधिन छ । उक्त प्रस्तवबारे सिसिएमसीले निर्णय गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेपछि मात्रै औपचारिकता पाउने ती अधिकारीको भनाइ छ ।
पछिल्लो एकसाता यता उपत्यकामा कोरोना संक्रमित थपिँदै गएका छन् । लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट उपत्यका प्रवेश गर्नेको संख्या बढेको छ । जसका कारण जोखिम बढेको हो ।
सरकारले २६ असारबाट निजी सवारी साधानमा लगाएको जोरबिजोर प्रणाली हटाएको थियो। मन्त्रालयका ती अधिकारीले पहिलो चरणमा जोरबिजोर प्रणाली लागू गर्न र त्यसपछि पनि जोखिम कायमै रहे अन्य उपाय अबलम्बन गर्नुपर्ने बताए।
उनले उपत्यका भन्दा बाहिरबाट आउनेलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा राख्नुपर्ने बताए । सोही अनुरुप १४ दिन क्वारेन्टाइनमा बस्ने गरी मात्रै उपत्यका प्रवेश गर्न दिने व्यवस्था गर्न प्रस्ताव समेत गरेको छ ।
सीसीएमसीले समेत मन्त्रालयको प्रस्ताव लागू गर्न सकारात्मक रहेको संकेत गरेको छ ।