विराटनगरको कोशी अस्पतालमा मंगलबार बिहान मृत्यु भएका पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमण आशंका गरेर मृत्युपछि कोशी अस्पतालकै प्रयोगशालामा स्वाब संकलन गरेर परीक्षण गराइएका उदयपुरको बेलका नगरपालिका-१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेमा कोरोना नदेखिएको हो ।
न्यौपानेलाई बेलकाबाट उपचारका लागि सोमबारराति विराटनगर ल्याइएको थियो । कोरोनाको आशंका गर्दै आइसोलेसनमा लगेर उपचारको तयारी गर्दै गर्दा उनको बिहान १ बजे मृत्यु भएको थियो । केही दिनअघि उनलाई जण्डिसको समस्या देखिएको थियो ।
विराटनगर ल्याइपुर्याउँदा ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या पनि देखिएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
रिपोर्ट नगेटिभ आएपछि शव परिवारका सदस्यलाई जिम्मा लगाइएको छ ।