logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७२७, २० जना आइसियूमा


अंकुरण खबर
676
Shares

दिनहुँ कोरोना संक्रमण बढ्दै गएको काठमाडौं उपत्यकामा संक्रमितको संख्या ७ सय २७ पुगेको छ ।

पछिल्लो एक हप्तामा मात्रै २ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा मंगलबार एकै पटक ६२ जनामा संक्रमण पुष्टि भएको थियो भने सोमबार ५१, आइतबार ३१, शनिबार ६, शुक्रबार ३८, बिहीबार ४५, बुधबार १५ जना संक्रमित थपिएका थिए ।

संक्रमितहरु काठमाडौं जिल्लामा ५ सय ४१, ललितपुरमा १ सय ९ र भक्तपुरमा ७७ जना छन् । संक्रमितमध्ये १ सय १७ जनाको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने पाटन अस्पतालमा ८६ जना उपचाररत छन् ।

यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा ४६, काठमाडौं मेडिकल कलेजमा ४५, अयुर्वेद अस्पतालमा २०, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ७ जनाको उपचार भइराखेको छ । उपचारतमध्ये २० जनालाई आइसियूमा राखिएको छ भने एक जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ ।

टेकु अस्पतालमा १२, पाटन अस्पतालमा ६ र त्रिवि शिक्षण अस्पतालमा १ जनालाई आइसियूमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक जना कोरोना संक्रमितको सशस्त्र प्रहरी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइराखेको छ ।

काठमाडौं उपत्यकाका संक्रमितमध्ये अहिलेसम्म ४ सय ८१ जना निको भएर घर फर्किएका छन् । उपत्यकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ४ र ललितपुरमा १ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।