logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा जोरबिजोर उल्लंघन हुन नदिन ४६ ठाउँमा ट्राफिक प्रहरीको ‘चेकिङ युनिट’ परिचालन


अंकुरण खबर
1.638K
Shares

मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

काठमाडौं उपत्यका र कोभिड–१९ को २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।

जोर गते जोर नम्बरका गाडी सञ्चालन गर्ने र बिजोर गतेमा बिजोर नम्बरका गाडी सञ्चालन गर्ने गरी आजदेखि उक्त व्यवस्था लागू भएको छ । आज बिहानैदेखि जोरबिजोर प्रणाली कार्यान्वयनमा प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आज जोर नम्बरका मात्रै गाडी चलाउन पाइन्छ ।

निजी, सार्वजनिक र सरकारी सवारी साधनमा जोरबिजोर लागू भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारबाट उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका ४६ स्थानमा ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त टोलीलाई तैनाथ गरेको छ ।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जोरबिजोर प्रणाली उल्लंघन हुन नदिन ४६ स्थानमा ट्राफिक प्रहरीको ‘चेकिङ युनिट’ परिचालन गरिएको बताए । जसमध्ये काठमाडौंमा २२ तथा भक्तपुर र ललितपुरमा १२/१२ स्थानमा चेकिङ युनिट परिचालन गरिएको छ ।

संक्रामक रोग ऐनविपरीत कार्य गरे १ सय रुपैयाँसम्म जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुनसक्छ ।