logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा थपिए ४४ थुनुवासहित १३५ जना कोरोना संक्रमित


अंकुरण खबर
741
Shares

पर्सामा एकैदिन ४४ थुनुवासहित थप १३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

वीरगन्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा आज १४३ जनामा कोरोना संक्रमण देखिएको हो । अस्पतालका चिकित्सक डा. निरज सिंहका अनुसार आज थपिएका संक्रमितमध्ये पर्साका १३५ जना छन् । यस्तै, बारा तथा रौतहटका चार/चार जना रहेको उनले जानकारी दिए ।

पर्साका प्रहरी नायब उपरीक्षक मन्जित कुँवरले कन्ट्याक्ट ट्रेसिङका क्रममा ४४ थुनुवामा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार संक्रमितहरु वीरगन्ज महानगरपालिकास्थित प्रहरी चौकी, ईनर्वा तथा वडा प्रहरी कार्यालय श्रीपुर र विर्ताका थुनुवा छन् ।

वीरगन्ज महानगरपालिका–२५, खलवाटोल सिर्सियाका २७ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वीरगन्ज महानगरपालिका–१०, आदर्शनगर र अशोक बाटिकाका ६ महिलासहित गरी ११ जना, चिनिमेलका दुई महिलासहित चार जना, वीरगन्ज-११ का दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, वीरगंज महानगरपालिका–१३, तेजारथ टोल, मुर्ली-१२, भिष्वा-१५, घडिअर्वा-१०, पिपरा, गण्डक लगायतका एकरएक जना संक्रमित थपिएका छन् ।

बारामा कलैया, चिउटाहा, लिपनिमाल–३ र जितपुरका एक/एक जना संक्रमित थपिएका छन् । रौतहटको ईशनाथ नगरपालिका रौतहटका २ महिलासहित तीन जना र गौर नगरपालिकाका एक जना पुरुषमा संक्रमण देखिएको छ ।