कोरोना महामारीको खतरा बढीरहेको बेला बीमा समितिले कोरोना बीमा व्यवस्थापनको लागि छुट्टै समिति गठन गरेको छ । समितिले कोरोना बीमा मापदण्ड २०७७ जारी गर्दै अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका एक एक जना प्रतिनिधि सहभागी गराई छुट्टै व्यवस्थापन समिति गठन गरेको हो ।
कोरोना बीमाका लागि सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य सहयोगको व्यवस्थापनको लागि छुट्टै व्यवस्थापन समिति गठन गरेको समितिले जनाएको छ ।
नयाँ मापदण्ड अनुसार सरकारबाट प्राप्त अनुदान व्यवस्थापन तथा कोरोना बीमाका बीचमा आवश्यक समन्वय यही व्यवस्थापन समितिले गर्नेछ । व्यवस्थापन समितिमा बीमा समितिका कार्यकारी निर्देशक संयोजक रहनेछन् भने अर्थमन्त्रालयका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्यको रुपमा रहनेछन् । त्यसैगरी, बीमा समितिका एक जना निर्देशक समेत उक्त समितिमा राखिएको छ ।
कोरोना बीमा मापदण्ड २०७७ मा पहिलो पटक कोरोना बीमाको जोखिम बाँडफाँड समेत गरिएको छ । यसमा पहिलो एक अर्ब बीमक कम्पनी, दोस्रो एक अर्ब पुनर्बीमा कम्पनी, तेस्रो ५० करोड बीमा कम्पनीहरुमा व्यवस्था गरिएको महाविपत्ति कोष, चौथो ५० करोड बीमा समिति र पाँचौं बाँकी जोखिम बहन सबै नेपाल सरकारले व्यवहोर्ने उल्लेख गरिएकोछ ।
व्यवस्थापन समितिको नाममा क बर्गको बाणिज्य बैंकमा छुट्टै खाता खोलेर कोरोना बीमाको अनुदान रकम माग गरी बैंक खातामा जम्मा गरेर बैंक मार्फत नै कोरोना बीमा बापतको अनुदान रकम भुक्तानी गरिने छ ।