logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा फेरि मनसुन सक्रिय, देशभर बर्षाको सम्भावना


अंकुरण खबर
2.418K
Shares

नेपालमा फेरि मनसुन सक्रिय हुँदै गएकाले देशभर बर्षा हुने मौसमविदहरुले जानकारी दिएका छन् ।

मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पूर्वको तुलनामा पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन् ।

केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै उनले तटीय क्षेत्र, भिरालो जमिन र निकास नहुने ठाउँका मानिसलाई सावधानी अपनाउन आग्रह गरेकी छन् ।

आज प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र अरु धेरैजसो ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश–१, गण्डकी प्रदेश, प्रदेश–५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश–२ र वाग्मती प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ । आज र भोलि झरी परे पनि पर्सी दिउँसोदेखि भने पानी पर्ने क्रम कम हुँदै जाने महाशाखाले जनाएको छ ।

यसैबीच कैलाली, कञ्चनपुर र बर्दियाको धेरै ठाउँमा निकै ठूलो पानी परेकाले टीकापुर आसपासको क्षेत्र डुबानको उच्च जोखिम परेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली र चौधर नदीको तटीय क्षेत्रका बासिन्दाले उच्च क्षेत्रमा बस्न आग्रह गरेको छ ।