विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ ।
उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको जानकारी दिए ।
साँगा र बनेपाबाट हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको उनले बताए ।
विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको प्रनाउ जोशीले जानकारी दिए । उनका अनुसार साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकल बाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाइएको छ । पास भएका सवारी साधन पनि साँझ ७ बजेबाट प्रवेश गर्न पाउने छैनन् ।
ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालक बाहेक अरु व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले बताए ।
प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ ।