logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा बोक्सी आरोपमा छिमेकीले गरे दम्पतीको हत्या


अंकुरण खबर
871
Shares

कञ्चनपुरमा बोक्सीको आरोपमा छिमेकीले एक दम्पतीको हत्या गरेका छन् ।

छिमेकी प्रकाश ऐरले अर्का व्यक्तिलाई चार लाख रुपैयाँ दिएर बेलौरीका ६२ वर्षीय घनश्याम खाती र पत्नी बालादेवीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

शुक्रबार राति भएको आक्रमणमा बालादेवीको घटनास्थलमै र घनश्यामको उपचारका क्रममा आइतबार मृत्यु भएको थियो । प्रहरीका अनुसार छिमेकी प्रकाश र मृतकका परिवारबीच लामो समयदेखि विवाद थियो ।

‘प्रकाशले तन्त्रमन्त्र गर्ने एक व्यक्तिलाई चार लाख रुपैयाँ दिएर खाती दम्पतीको हत्या गर्न लगाएको पाइयो’, स्रोतले भन्यो, ‘हत्यारालाई पक्राउ गरिएको छ ।’

प्रहरीका अनुसार हत्यामा संलग्न कञ्चनपुरकै वाणीका थारु समुदायका हुन् । उनले आफू तान्त्रिक व्यक्ति भएको बताएका छन् । ती व्यक्तिले आफूले वाण प्रहार गरेर खाती दम्पतीको हत्या गरेको बताएको स्रोतले बतायो ।

घटना अनुसन्धानमा कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी खटिएका थिए । प्रहरीले आज पत्रकार सम्मेलन गरेर घटनाबारे थप जानकारी दिने कार्यक्रम छ ।