दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् ।
चितवनको टाँडीबाट पक्राउ परेकी कल्पना मुडभरी (पौडेल)ले बोहोराको हत्या गरेको स्वीकार्दै प्रहरीसमक्ष यस्तो बयान दिएकी हुन् ।
बोहोराले आफ्नो नामको नक्कली फेसबुक आइडी बनाएर (नंग्न तस्बिर) अन्तरंग तस्वीरहरु सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि त्यही रिस सहन नसकेर बोहोराको हत्या गरेको कल्पनालाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहरालाई कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको छ ।
बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् । त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न ती महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।
सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो ।