कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएपछि काँभ्रेको पाँचखाल नगरपालिकाका दुई वडा सिल गरिएका छन्।
सोमबार पाँचखाल नगरपालिका–१ अनेकोटकी ५० वर्षीया महिलाको ललितपुरको क्वार्कोस्थित किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्यु भएपछि पाँचखालका वडा नं. १ र २ सिल गरिएको मेयर महेश खरेलले बताए।
कोरोनाबाट मृत्यु भएकी महिला उपचारका लागि स्थानीय प्राथमिक उपचार केन्द्रमा पुगेकी थिइन्। उनी सार्वजनिक यातायात चढेरै उपचारका लागि गएकोले पाँचखाल नगरपालिकाले सार्वजनिक यातायात पनि बन्द गरेको छ। एनको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन भइरहेको मेयर खरेलले बताए।
उनी निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे किस्ट अस्पताल पुगेकी थिइन। उनको सोमबार बिहान ९ बजे मृत्यु भएको थियो।
निमोनियाको उपचार गराउन आउँदा शंका लागेर कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताए।
उनीसँगै पाँच जना अस्पताल आएको जनाएको छ। उनीहरुको पनि स्वाब संकलन गरिएको छ ।