पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको हिजो मंगलबार किस्ट अस्पतालमा मृत्यु भएको हो । धादिङको निलकण्ठ नगरपालिकाका ३२ वर्षीय पुरुषको मंगलबार नै काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।
त्यसैगरी जनकपुरका ७१ वर्षीय पुरुषको आज काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । जनकपुरकै ३८ वर्षीया महिलाको आज पाटन अस्पतालमा मृत्यु भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई सप्तरीको राजविराज बस्ने ७२ वर्षीय पुरुषको मंगलबार राति ह्याम्स अस्पतालमा मृत्यु भएको थियो। मोरङको बूढीगंगा नगरपालिकाका ५५ वर्षीय पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको थियो ।
कपिलवस्तुको तौलिहवाका ४२ वर्षीय पुरुषको आज बुटवल कोरोना अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी बाराको कलैयाका ७५ वर्षीय पुरुषको आज किस्ट अस्पतालमा मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।