काठमाडौं जिल्ला प्रशासनले गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार एक सूचना मार्फत सबै जिल्ला प्रशासनलाई यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास नदिन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिर जान र बाहिरबाट उपत्यका आउन रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए।
उनले उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृतिसमेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको बताए ।
