धुलिखेल अस्पतालमा बिहीवार एक जना बिरामीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धुलिखेल अस्पतालको आइसोलेसनमा कोराना संक्रमणको उपचार गराइरहेका ९८ वर्षका बृद्धकी बुहारी, १ नर्स, अर्का १ जना दमक घर भै धुलिखेल अस्पतालमै पित्त थैलीको अप्रेशनका लागि भर्ना भएका बिरामी र अस्पतालको अगाडि होटल व्यवसाय गर्दै आएका १ व्यवसायीका साथ ६ जना संघीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
अस्पतालको नर्स सहित बिरामी, बिरामीका आफन्त लगायतलाई कोरोना संक्रमण भए लगतै धुलिखेल अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अर्को निर्णय नभए सम्मका लागि बन्द गरिएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल वरपर व्यापार व्यवसाय गर्नेलाई पनि घरमै बस्न आग्रह गरेको छ । धुलिखेल नगरपालिकामा संक्रमित बृद्धको घर धुलिखेल बजारमै भएकाले सिल गर्ने तयारी समेत भएको स्रोतले जनाएको छ ।
संक्रमित बृद्धका परिवारका सदस्यले अस्पताललगायत समुदायका धेरै व्यक्तिसँग भेटघाट गरेका पाइएकाले कन्ट्रयाक ट्रेसिङ जारी रहेको अस्पतालले जनाएको छ ।