logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टी विवाद मिलाउन नेकपा अध्यक्षद्वयको छलफल सुरु


अंकुरण खबर
1.326K
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान सवा ११ बजेदेखि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो। दुई अध्यक्षबीच वार्ता सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

यसअघि हिजो बसेको बैठकमा केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक बनेको दाबी गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बिहान भएको चार घण्टा लामो संवाद सकारात्मक भएकाले आज फेरि बस्ने बताइएको छ ।

हिजोको बैठकमा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

अध्यक्ष प्रचण्डले बिहीबार नै ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै पार्टीभित्र देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीले तीन बुँदे प्रस्ताव ल्याएको जानकारी दिएका थिए।

प्रचण्डका अनुसार पार्टी र सरकार सञ्चालनको विषयमा भएको कमीकमजोरीको आत्माआलोचना गर्ने, पाँचै वर्ष ओली प्रधानमन्त्री र कार्यकारी अध्यक्षलाई थप अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारीको प्रस्ताव आएको प्रचण्डले बताएका थिए ।

स्थायी कमिटी बैठकमा प्रचण्डसहितनका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए । यता ओली भने राजीनामा नदिने अडानमा छन् ।