Breaking Newsअन्तर्वार्ता

लडाकुदेखि मन्त्रीसम्मको अनुभव,दृढ इच्छा शक्ति र निरन्तरको संघर्षले नै मानिसलाई सफल बनाउँछ : कमला रोका

संघर्ष र सफलताको अनुकरणीय नाम हो, कमला रोका । समाजमा व्यप्त अन्धविस्वास, विभेदको पीडा सहेर तत्कालिन माओवादीको पहिलो महिला लडाकुदेखि मन्त्रीसम्मको अनुभव बढुलेकी रोका उत्पीडित वर्ग र आम महिलाको प्रेरणाको स्रोत समेत हुन् । उनै रोकासंग जीवनको भोगाई, वर्तमान राजनीतिकोबारेमा अंकुरण खबरका लागि गरिएको कुराकानीको संपादित अंश:

सदैव चुनौती उठाउन सक्ने, चुनौतीमै संभावना देख्ने र संघर्षसंग जुध्ने व्यक्तिले नै सफलता हासिल गरेको हुन्छ । यही भएरत भनिन्छ, जीवन दुख सुख र संघर्षै संघर्षको यात्रा हो । यही यात्राको क्रममा हर भोगाईको अनुभव संगालेकी एक आटिलो र सफल नाम हो कमला रोका ।

विसं २०३२ साल पुस १५ गते रुकुमको प्वाँङमा सामान्य किसान मगर परिवारमा जन्मिएकी कमला रोकालाई अहिलेको अवस्थामा पुग्छु भन्ने न त सोच थियो न त माहोल नै । तर गरे के हुन्न भने जस्तै रोकाको दृढ इच्छा शक्ति, निरन्तरको मिहिनेत, कर्तव्य निष्ठ स्वभावका कारण हाल उनी पूर्वी रुकुमबाट प्रतिनिधित्व गर्दै सांसद भनेकी छिन् ।

सानैदेखि घर परिवारबाटै निडर स्वभावले संघर्ष गरेकी रोकाको लडाई अहिले पनि जारी छ । अन्याय अत्यचार, विभेदको बिरोध गर्दै समानता मूलक समाजको चाँहा राख्ने रोका आफ्नो विगत यसरी संझिन्छिन् ‘रुकुम दुर्गम जिल्ला हो । त्यसमा पनि म जन्मिएको ठाँउ झनै दुर्गम । विभेद,अन्याय, अत्यचार अहिले त छ भने त्यतीखेर झन नहुने कुरै भएन् । मैलै घर परिवारबाटै लडन सुरु गरे । पढ्न असध्यै मन थियो । तर छोरी पढाउने भन्दा छिट्टै विवाह गरिदिने चलनले मेरो पनि बालबिबाह हुन लागेको थियो । तर गाली, कुटाई, पीटाई अनेकन वाधा व्यावधान सहेर पनि मैलै विद्यायल गएर पढिछाडे ।’

राजनीतिक यात्रा :

विभेद रहित  समाजको लागि शिक्षा र संवृद्ध देशको लागि निश्वार्थ, दुरदर्शी राजनीति अपरिहार्य रहेको बुझेकी रोका विसं २०४६ सालदेखि नै राजनीतिमा लागिन् । तत्कालिन माओवादीले विसं २०५२ साल फगुन १ गते सुरु गरेको युद्धमा कक्षा १० मा पढदै गर्दा रोका पूर्णकालीन रुपमा भूमिगत भइन् । अन्यायको अन्त्य गर्दै न्यायको कल्पनामा ज्यानको कुनै प्रवाह नगरि युद्धमा होमिने उनी पहिलो महिला छापामार पनि हुन् । समाज परिवर्तन र विकासको लागि शिक्षा अपरिहार्य बोध गरेकी रोकाले पढ्ने इच्छालाई शान्ति प्रक्रियामा आएपछि पनि निरन्तरता दिइन् । अहिले उनी स्नातक तहको अन्तिम वर्षमा अध्ययन गरिरहेकी छिन् ।

उनी वि.सं २०५३ सालमा पार्टी जिल्ला सदस्य समिति, संगठन इञ्चार्ज, विसं २०५५ सालमा रुकुम पार्टी ब्यूरो क्षेत्र उपप्रमुख, संयोजक, प्यूठान जिल्लाको इञ्चार्ज लगायतका विभिन्न जिम्मेवारीमा रहिन् । युद्धकै क्रममा उनी वि.सं.२०५४ सालमा नेपालगञ्जबाट गिरफ्तार परेर २ साता हिरासतमा बसिन् ।

वि.सं.२०६१ सालमा केन्द्रीय सदस्य, २०६२ सालमा जनसेनाको बिग्रेड कमाण्डर भइन् । त्यस्तै वि.सं. २०६३ सालमा अन्तरिम विधायक सदस्य, वि.सं.२०६४ मा समानुपातिक सांसद्वि, वि.सं. २०६८ सालमा युवा तथा तथा खेलकुदमन्त्रीको जिम्मेवारी समालिन । त्यस्तै पार्टीको केन्द्रीय सचिवालय सदस्य हुदै हाल सांसद् छिन् ।

तत्कालिन माओवादीमा गर्विलो इतिहास बोकेकी रोका युद्धमा होस या हाल जुन सुकै परिस्थितिमा पनि कुशलता पूर्वक आफ्नो काम सम्पन्न गर्ने उदाहरणीय पात्र पनि हुन् । पूर्व आपूर्तिमन्त्री एवं वाइसिएलका पूर्वअध्यक्ष गणेशमान पुनकी श्रीमती रोका दुई छोराकी आमा समेत हुन् ।

जीवनका सबै भन्दा दुख र सुखको अनुभूति यस्तो छ रोकाको :

सानोमा पढ्ने रहर हुँदा पनि नपाउँदा दुख लाग्थो । त्यस पछि  मुक्तिका लागि भन्दै धेरै लडाइको अग्रमोर्चामा रहेर लडे । लडाइमा जनताको सुखी भविष्यकै लागि कित मरिन्छ कि मारिन्छ भन्ने सोचलेनै गइन्थो । लडाई सकिएपछि संगै हिडेको साथी गुमाउदा, अंगभंङ हुँदा असध्य पीडा हुन्थो यी क्षण निकै दुखद लाग्थो । तर केही पाउनको लागि केही गुमाउनु पर्छ भन्ने सिकेकाले शोकलाई शक्तिमा बदल्दै अझ शसक्त भइन्थो ।

खुसीको क्षण यसरी सम्झिन्छिन् ‘जीनवमा दुख सुख आउनु सामान्य प्रक्रिया हो हामीले जनयुद्ध गरेकै भोक, रोग, अभाव,शिक्षा स्वास्थ लगाएत आधारभूत आवश्यक्ताबाट कोही पनि वञ्चित नहुँन भनेर हो । कुरीति कुसंकार अन्याय अत्यचार मूक्त समाजको लागि हो । जनताले आफ्नो संविधान आफैले बनाउने व्यवस्थाको लागि हो । त्यही भएर संविधान सभाबाट संविधान बनेको दिन्,पीडामा परेकाले निर्धक आवज उठाउन सकेको देख्दा खुसी लाग्छ । यद्यपी गर्न बाकी धेरै छ ।’

युद्धकालमा होस् या अहिले पार्टीभित्र महिलालाई अलि हेपाहा प्रवृतिले हेर्ने, अबसर नदिने खेल हुन्छ भन्छन्नी हो ?

हो, हाम्रो समाज अझै पनि कतै न कतै पितृसत्तात्मक सोच,व्यावहारबाट ग्रसित छ ।सिद्धान्त र व्यावहामरमा एकरुपता ल्याउन हामी पार्टी भित्र होस या संसद भवन जहासुकै संघर्षरत छौं । हामीले राज्यका होस या पार्टी भित्र जुनसुकै क्षेत्रका रहेक कुरामा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ । महिलाका सही निर्णयलाई कही कतैबाट हस्तक्षेप गर्नु हुदैँन भन्ने कुरामा आवज उठाई लडिरहेका छौं । पहिले पहिले मुक्तिका लागि लडिन्थो भने अहिले त्यस भित्र पनि महिला सहभागितको लागि अझ लडदै छौं ।

रुकुम पूर्वबाट निर्वाचित भएर आए पछि त्यहाँका जनताले के परिवर्तन पाए ?

हाम्रो जिल्ला अति विकट जिल्ला हो । गाँस, बास, कपास, शिक्षा, स्वास्थ लगायतका न्यूनतम आवश्यक्ताबाट पनि बञ्चित छन् धेरै जनताहरु । भौगोलिक रुपले पनि निकै जटील छ । म पहिले सांसद हुँदा पनि जनसरोकारका विषयलाई संबोधन गर्न सधै भूमिका त खेलिरहे नै । त्यस माथि विसं २०७४को संविधान सभामा प्रत्यक्ष जीतेर आएपछि त अझ बढी कर्तव्यबोध भएको छ । जिल्लामा सडक निर्माणदेखि, खानेपानी,शिक्षा,स्वास्थ,विद्यमान अन्धविस्वासलाई हटाउन हरपल लागि परेकै छु । मन्त्री हुँदा होस् या जुनसुकै अवस्थामा रहदा जिल्लाको समस्या समधान गर्न कुनै कसर बाकी राखेको छैन् । त्यो जनताले पनि महसुस गरेका छन् ।

अहिले कोरोनाको समय छ यो अवस्थामा सक्दो राहात लिएर आफै जिल्ला गएकी छु । विभिन्न कामले राजधानीमा बसेकाहरुलाई पनि खाद्यन लगाएत कुरामा सहयोग गरेकी छु । हामी राजनीतिज्ञको काम नै जनतालाई समस्याबाट मुक्त गराउनु हो । यो कुरामा म हरबखत सचेत छु र सोही अनुसार काम गरेकी छु ।

अहिलेको पार्टी विवादलाई कसरी लिनुहुन्छ ?

नेपालको इतिहासमै जनताले चाहेको शक्ति सम्पन्न बहुमतको कम्यूनिष्ट पार्टी बनेको छ अहिले । सरकारमा पनि नेकपा रहेका कारण हामीले जनयुद्धमा होस या अन्य समयमा भन्ने गरेको संवृद्ध नेपाल सुखी नेपाली बनाउने यो अबसर पनि हो । तर दुखका साथ भन्नु पर्छ यो अवसरको सही सदुपयोग शीर्ष नेतृत्वले गर्न सकेन् ।

पार्टीभित्र मतभेद, वादविवाद हुनु स्वभाविक हो । तर अहिले देखिएको अस्वस्त प्रतिशपर्धा, मनोमानीले पार्टीलाई नोक्सानी त गर्छ नै,नेता र पार्टी प्रति जनविश्वास पनि घट्छ । हामीले पटक-पटक भनेका छौं पार्टीमा देखिएका समस्यालाई समधान गर्दै पार्टी एक ढीक्का भएर अगाडी बढ्नु पर्छ ।

पार्टी एकताको लागि केही सांसदहरुले चलाएको हस्ताक्षर अभियानमा कमला रोकाको पनि सहभागीता छ भन्छन् नी ?

म के कुरा स्पष्ट पार्न चाहान्छु भने हस्ताक्षर अभियानमा मेरो कुनै सहभागिता छैन् । मेरो मत पार्टी फुटाउने कसैलाई छुट छैन् । विद्यमान समस्या समधान गर्दै अझ पार्टी एक ढिका भएर बाकी रहेका कार्यभार पुरा गर्नुपर्छ भन्ने हो । यसको लागि हामी साथीहरु मिलि शीर्ष नेतृत्वलाई सहयोगका साथै आफ्नो ठाँउबाट खबरदारी पनि गरिरहेका छौं । राजनीति विशुद्ध समाजसेवा भएकाले विना स्वार्थ देश र जनताको सर्वो हीतमा लागी काम गरे मात्र जनता समक्ष गरेका बाचा पुरा भई समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य  पुरा हुनेछ ।

Comment here