logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणको जोखिम : सिन्धुपाल्चोकमा आजदेखि सात दिन लकडाउन


अंकुरण खबर
897
Shares

सिन्धुपाल्चोकमा आजदेखि लकडाउन लागू गरिएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि आज बिहान पाँच बजेदेखि आउँदो सात गते राति १२ बजेसम्मका लागि लकडाउन लागू भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को ३१ साउनमा बसेको बैठकले आजदेखि जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको थियो । छिमेकी जिल्लाहरूमा कोभिड–१९ को संक्रमण बढ्दै गएकाले सिन्धुपाल्चोकमा जोखिमको सम्भावनालाई मध्यनजर गरी लकडाउन गरिएको हो ।

कोरोना संक्रमणबाट जोगिन लकडाउनका पूर्ण पालना गर्न पनि सबैमा अपील गरिएको छ । लकडाउन अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन ।

त्यसैगरी, आधारभूत खाद्यसामग्री, तरकारी पसल, दूध, डेरी, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसल र निर्माण सामाग्रीका पसल बाहेक अन्य पसल सञ्चालनमा रोक लगाइएको सहायक सिडिओ खनालले बताए ।

सरकारी, गैरसरकारी कार्यालयहरूबाट अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने र बैंक तथा वित्तीय संस्थाहरू दिनको ११ बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न दिइनेछ । चाडपर्व पनि पारिवारिक रूपमा मात्रै मनाउनुपर्नेछ ।

होटल तथा रेष्टुरेन्ट टेकअवेका लागि मात्रै सञ्चालन गर्न पाइने, शैक्षिक संस्थाहरू बन्द गर्नुपर्ने, सबै प्रकारका तालिम गोष्ठी, सभा, सेमिनार सञ्चालन गर्न नपाइने लगायतका निर्णय डीसीसीएमसीले गरेको थियो ।