विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको बताएको छ ।
डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई ‘आफू संक्रमित छु‘ भन्ने थाहा नहुँदा संक्रमण फैलिँदै गएको बताएको हो ।
पहिले पाका उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय विश्वव्यापी रुपमै यूवावयका व्यक्तिहरुमा संक्रमणदेखिने क्रम बढिरहेको छ ।
यसले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नभएका क्षेत्रका बूढाबूढी र बिरामी व्यक्तिहरुलाई जोखिममा पारेकोपनि डब्लूएचओले बताएको छ ।
डब्लूएचओका पश्चिम प्रशान्त क्षेत्रीय निर्देशक ताकेशी कासाईले मंगलबार भर्चुअल ब्रिफिङका क्रममा भने, ‘२० देखि ४० वर्ष उमेरसमूहका व्यक्तिबाट कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । तीमध्ये धेरैलाई त आफू संक्रमित छु भन्ने पनि थाहा छैन ।’महामारीको स्वरुप परिवर्तन भएको उनले बताए ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा छ भनिएका देशहरुमा समेत पछिल्लो पटक तीव्र रुपमा संक्रमण फैलिइरहेको छ ।
‘पछिल्लो पटक कोरोना संक्रमणमा फेरि उच्च वृद्धि मात्रै देखिएको छैन, एसिया–प्रशान्त क्षेत्रमा हामी महामारीको अर्को नयाँ चरणमाप्रवेश गरिरहेका छौं,’ क्षेत्रीय निर्देशक कासाइले भने ।