कोरोना भाइरस (कोभिड–१९)संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीलाई मंगलवारदेखि ‘लकडाउन’ गरिएको छ ।
पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि भदौ ७ गते राति १२ बजेसम्मका लागि जिल्ला ‘लकडाउन’ गर्न लागिएको हो ।
रुपन्देही जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीले जिल्ला ‘लकडाउन’ गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए ।
संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने गरी भदौ ७ गतेसम्मका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिँदै जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।