Breaking Newsमनोरञ्जन

राष्ट्रिय झन्डा जलाइएको म्युजिक भिडियोका गायक कीर्तिपुरबाट पक्राउ

राष्ट्रिय झन्डा जलाइएको भिडियो समावेश गीतका गायकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गीतका गायक ग्लालेन दोर्जे तामाङलाई काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो ।

यसअघि प्रहरीले उक्त भिडियो प्रकरणमा ५ जनालाई पक्राउ गरिसकेको थियो । राष्ट्रिय भन्डा जलाइएको उक्त भिडियोको निर्माण, निर्देशन, गायन र छायांकन समेतमा गरी करिब १२ जनाको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गीतका गायकसहित ६ जना पक्राउ परिसकेको अवस्थमा प्रहरीले अन्य ६ जनाको खोजी भइरहेको जनाएको छ ।

‘मंगोल हप अफिसियल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘देशद्रोही’ शीर्षकको गीतमा राष्ट्रिय झन्डा जलाइएको दृश्य समावेश गरिएपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भइरहेको छ । गीतमा राष्ट्रिय झन्डा र नेपाली राष्ट्रियताको सन्दर्भमा समेत ‘अपमानजनक’ शब्दहरु प्रयोग गरिएको छ ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।

Comment here