logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निषेधाज्ञा जारी, अत्यावश्यक वस्तु तथा सेवा सञ्चालनमा कुनै अवरोध छैन : डीआइजी पोखरेल


अंकुरण खबर
754
Shares

कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकामा जारी निषेधाज्ञामा अत्यावश्यक वस्तुको विक्री वितरण तथा सेवा सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान अत्यावश्यक वस्तु तथा सेवा सम्बन्धी केही सवारी साधन सञ्चालनमा रोक लगाइएको गुनासो आएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले अत्यावश्यक वस्तु तथा सेवा सञ्चालनमा अवरोध नभएको बताए ।

‘हामीले अत्यावश्यक वस्तु तथा सेवाका सवारी रोकेका छैनौं,’ उनले भने, ‘कहिँ कतै समस्या भए पनि सहजीकरण गरिसकिएको छ ।’

खाद्यवस्तु, पानी, पेट्रोलियम पदार्थ, ग्यास, औषधी बोकेका सवारी, फोहर मैला संकलन, एम्बुलेन्स लगायत कुनैपनि सवारी साधनहरु सञ्चालनमा अवरोध नभएको डिआइजी पोखरेलले जानकारी दिए । त्यस्ता वस्तु तथा सेवा सञ्चालन र वितरणका लागि खटिनुपर्ने कर्मचारीका लागि सम्बन्धित संस्थाबाट जारी परिचय पत्र तथा आवश्यक कागजात भए अवरोध नहुने पनि उनले जानकारी दिए ।