ओखलढुंगाकी पवित्रा कार्कीलाई काठमाडौंको सीतापाइलामा एसिड प्रहार गर्ने दुई जना कारागार चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले बिहीबार दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश कृष्णजंग शाहको इजलासले थुनछेक बहस गर्दै कार्कीमाथि एसिड हान्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
अदालतले एसिड प्रहारबाट घाइते कार्कीको उपचारमा राहत कोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन पनि आदेश दिएको छ ।
यसअघि एसिड प्रहार गर्नेहरुलाई कारगार पठाए पनि मुद्दाको फैसलापछि मात्रै क्षतिपूर्ति दिने गरिन्थ्यो । तर यसपटक अदालतले सुरुवाती सुनुवाइमै पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
उक्त मुद्दामा निशुल्क बहस गरेकी अधिवक्ता राधिका खतिवडाले सुरुवाती सुनुवाइमै राहतकोषबाट क्षतिपूर्ति दिने आदेशले पीडितलाई उपचारमा सजिलो हुने बताइन् ।
हाल कीर्तिपुर अस्पतालमा उपचाररत पवित्रालाई कोठाबाट दही किन्न निस्किएको बेलामा एसिड हानिएको थियो ।