Breaking Newsअन्तर्वार्तामनोरञ्जन

सुनिता दुलालको तीज : जुम र फेसबुक लाइभमार्फत मनोरञ्जन दिँदै दर्शक श्रोतालाई

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज मनाउने प्रचलन यस वर्ष अलि फरक देखिएको छ । कोरोना भाइरसको महामारीका कारण यस वर्षको तीजमा गतवर्षहरुको जस्तो रौनक देखिएको छैन् । महिनौ अघिदेखि भेला हुने रमाइलो गर्ने प्रवृति बढ्दै गएकाले पछिल्ला केही वर्षयता तीज दशै तीहार भन्दा रमझम गरेर मनाउने गरेको पाइन्थो । जसले गर्दा कलाकारदेखि आम नारी यो समय धेरै व्यस्त हुन्थे । तर कोरोनाले यो वर्ष यस्तो अवसर जुराएन । घरभित्रै रहेको अवस्थामा पनि केही हदसम्म भएपनि सामाजिक सञ्जाल मनोरञ्जन प्रदान गर्ने साधान बनेका छन् । कोरोनाबाट पनि बच्ने र आफ्न्तहरुमाझ मुख हेराहेर गरेर रमाईलो गर्न सकिने फेसबुक, जुम लगाएतका एप्सको प्रयोगबाट रमाउनेको संख्या धेरै रहेको छ ।

कोरोना कहरकै बीचमा यस वर्ष पनि नयाँ नयाँ तीजका गीतहरु आएका छन् । पहिले पहिले वर्षभरी टाडा टाडा रहेका दिदी बहिनी साथी संगी भेट्ने,नाच,गान मार्फत दुख सुख व्यक्त गर्ने नारीको उन्मुक्तिको चाड मानिन्थो तीज । तर पछिल्लो समय तीजको मर्म बिपरीत अपाच्य शब्दहरु,भिडियोहरु बनाएका गीतहरु आउने गरेका छन् । जसले गर्दा तीजको मर्ममाथि नै प्रहार गरेको विश्लेषण पनि हुने गरेको छ ।

यद्यपी केही गायक गायिकाहरु छन् जसले सधै तीजको मर्म भावनामा रही समय अनुकुल गीत गाउने गरेका छन् । यसै मध्येकी एक हुन्,चर्चीत गायिका सुनिता दुलाल ।  मिठो स्वरकी धनी गायिका दुलालको तीज गीतको पर्खाइ गर्ने दर्शक श्रोता मात्र नभएर गायक गायिकाको पनि ठुलो संख्या छ । अंकुरण खबरका लागि उनै गायिका दुलालसंग कोरोनाको कहरमा तीज कसरी मनाउदैछिन् ? तीजको मौलिकता जोगाई भव्य र सव्य कसरी बनाउने ? लगाएतका विषयबस्तुमा अन्तरंग गरिएको कुराकानी…

तीज कसरी मनाउँदै हुुनुहुन्छ ?

यस वर्ष कोरोनाको कारणले तीज घरमानै मनाउदै छु । घर बाहिर कहीँ पनि जान्न । घरपरिवारसंगै रमाइलो गर्छु । किनकी स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो । गत वर्षहरुमा धेरै अघिदेखि कार्यक्रममा देश विदेश गरिरहन्थे । तर अहिलेको परिवेश अनुसार प्रविधिको सदुपयोग गर्दै विभिन्न सञ्चार माध्यमदेखि आफ्नै फेसवुक पेजबाट लाइभमा आएर दर्शक श्रोतालाई मनोरञ्जन दिने कोशिस गरेकी छु ।

यस वर्ष के कस्ता गीतहरु ल्याउनुभयो ?

म तीजमा हरेक वर्ष गीत ल्याउदा आफ्नो मौलिकतामा ध्यान दिन्छु । बरु थोरै गरौं राम्रो गरौं भन्ने मेरो सोच हुन्छ । यो वर्ष पनि मैलै दुईवटा गीत ल्याए । दर्शकले मन पराइदिनु भएको छ र हुन्छ भन्ने पूर्ण आशामा छु । रोजा वलीको शब्द, सुनिल मास्केको संगीत र मेरो स्वरमा रहेको जुममा हेरेर भर्खरै सार्वजानिक भएको हो । हुलमुल भन्दा पनि जुम,फेसबुक लगाएतका एप्स प्रयोग गरी तीज मनाउँ भन्ने सन्देशमूलक गीत छ । यसोगर्दा कोरोनाबाट पनि बच्ने र मनोरञ्जन पनि प्राप्त  हुन्छ । त्यस्तै अर्को गीत बेसी मेलैमामा अहिले दर्शकले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ । यस गीतमा  मेरो र  खुमन अधिकारीको स्वर रहेको छ । त्यस्तै नेत्र अर्यालको शब्द, खुमन अधिकारीकै भाका सिर्जना,कृष्ण वि.क.को संगीत संयोजन र शिव विकको निर्देशन रहेको छ । गीतको भिडियोमा भने अभिनेता दिलिप रायमाझी, अभिनेत्री नम्रता सापकोटाको अभिनय छ ।  यस गीतले पनि नेपालको वास्तविक अवस्थालाई चित्रण गरेको छ ।

तीजका गीतमा तडकभडक र भडकिलो पना बढ्दै गएको पाइन्छ, महिला भन्दा पुरुषहरु बढी सहभागी देखिन्छ, के यसले तीजको गरिमा कायम राख्न सक्ला ?

हो, पहिले-पहिले तीज साच्चै नारीहरुले एक अर्कामा जम्मा भई वर्षभरीका दुखः पीडा गीत संगीत मार्फत व्यक्त गर्ने, एक अर्काका दुख सुख साटसाट गर्ने गर्थे कति सद्भावको पर्व थियो । तर पछिल्ला वर्षाहरुमा परिवारमा सदस्यसंग बसेर हेर्न पनि असहज हुने खालका गीत ,भिडियोहरु आएका छन्, त्यो चै नराम्रो पक्ष हो ।

अर्को कुरा तीजका गीतमा पुरुषको सहभागिता देखिने कुरा गर्नुभयो यो त सकारात्मक पक्ष नै हो । समाज विस्तारै परिवर्तन हुदै छ, समानताको आवास हुँदै गरेको प्रतिक पनि हो । तर यसो भन्दै गर्दा हाम्रो समाज, संस्कृति सोचाईको स्तरलाई ध्यान दिनु पर्छ भन्ने मेरो मत छ ।

तीजमा निराहार वर्त बस्ने चलन रहदै आएको छ, तपाइ ब्रत बस्नु हुन्छ की हुन्न ?

म ब्रत बस्छु । जो हाम्रो परम्परादेखि चल्दै आएको छ । तर जो अस्वस्थ हुनुहुन्छ, सक्नुहुन्न उहाँहरुलाई चै स्वास्थलाई ध्यानमा राखेर मात्र ब्रत बस्ने नवस्ने निर्णय गर्न आग्रह गर्छु । तपाईहरु जहाँ हुनुहुन्छ स्वास्थ्य प्रति ख्याल गर्नुस,स्वस्थ रहनुस, रमाइलो गर्नुस्,कोरोनाबाट आफु पनि बच्नुस र अरुलाई पनि बचाउनुस् ।

Comment here