नेपालमा केहि दिनयता पानी पर्ने मात्रा अलि कम भए पनि मनसुन जारी नै रहेको मौसमविदले बताएका छन् ।
आज (आइतबार) विहान देशका धेरैजसो स्थानमा घाम लागेको मौसमविद मञ्जु बासीले जानकारी दिएकी छन् । तर, घाम लागे पनि केहि स्थानमा बादल पनि देखिने उनले बताइन् ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान देशको अधिकांश स्थानमा सामान्य बदली रही प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।
विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।