बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका-१ का ६७ वर्षीया महिला र समरीमाई गाउँपालिका-२ मुडुला निवासी ३८ वर्षीय पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो ।
६७ वर्षीया ती महिलालाई साउन ३१ गते कोरोना पोजिटिभ देखिएको थियो । उनलाई उपचारका लागि सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। स्वासप्रस्वासमा समस्या, उच्च रक्तचाप र मिर्गौला रोगी उनको भेन्टिलेटरमा उपचारका क्रममा आज दिउसो १ बजे मृत्यु भएको हो।
यस्तै मुडुलाका ३८ वर्षीय संक्रमित पुरुष भदौ १ गते अस्पताल भर्ना भएका थिए । उनको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएको उनको पनि आइसियु भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
