कास्कीमा जारी निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बिएको छ । जिल्ला संकट व्यवस्थापन समितिले भदौ २ गतेदेखि जारी निषेधाज्ञा १२ भदौसम्म लम्ब्याउने निर्णय गरेको हो ।
समितिले थप ५ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुलमा समेत रोक लगाइएको छ ।
अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधन, औषधि, खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल र सेवा भने खुला रहने छन् ।
बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिने निर्णय भएको छ ।
पछिल्ला दिनमा गण्डकी प्रदेशको राजधानी एवम् कास्की सदरमुकाम पोखरामा समुदायस्तरमा संक्रमण फैलिएको संकेत देखिएकाले निषेधाज्ञा जारी राख्नुपर्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । संक्रमण पोखरामा मात्र देखिएतापनि जोखिम जिल्लाभर नै कायम रहेकाले जिल्लाभर नै निषेधाज्ञा लागू गरिएको छ ।
कास्कीमा भदौ २ गते राति १२ बजेदेखि लागू गरिएको निषेधाज्ञाको अवधि आज (आइतबार) बेलुका १२ बजेदेखि सकिँदै थियो ।