logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कारागारमा कोरोना फैलिएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगद्वारा चिन्ता व्यक्त


अंकुरण खबर
1.287K
Shares

राष्ट्रिय मानवअधिकार आयोगले देशका विभिन्न कारागारमा कोरोना संक्रमण फैलिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै कारागारमा रहेका कैदी-बन्दीको स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारलाई अनुरोध गरेको हो।

‘काठमाडौंको केन्द्रिय कारागार तथा बाँके, सुनसरी, सिराहा, पर्सालगयातका कारागारहरूमा रहेका कैदी-बन्दी तथा कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीहरूमा समेत कोभिड-१९ को संक्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हाल देशका ७१ वटा कारागारमा २१ हजारभन्दा बढी कैदी-बन्दी रहेका र अधिकांश कारागारहरूमा क्षमताभन्दा अधिक संख्यामा विगत लामो समयदेखि कैदी-बन्दीहरू रहेको यस अघिको अनुगमनहरूबाट पाइएको आयोगले जनाएको छ । आयोगले कोरोना महामारीपछि अत्याधिक संख्यामा रहेका कैदी-बन्दीले असुरक्षित महसुस् गरी स्वास्थ्य सुरक्षा र जीवन रक्षाको लागि आयोग समक्ष अनुरोध गरेका जनाएको छ ।

साथै आयोगले क्षमताभन्दा अधिक संख्यामा कैदी-बन्दी रहेका कारागारहरूमा कोभिड-१९ को संक्रमणप्रति संवेदनशील भइ उच्च सतर्कता अपनाउन र नयाँ कैदी-बन्दीलाई छुट्टै राख्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।