logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी नियन्त्रणमा रहेका दुई युवाको निधनबारे छानबिन गर्न नेविसंघको माग


अंकुरण खबर
2.678K
Shares

नेपाल विद्यार्थी संघले रौतहट र मोरङमा प्रहरी नियन्त्रणमा रहेका दुई युवाको मृत्युका सम्बन्धमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले शुक्रबार विज्ञप्ति जारी गरी प्रहरी हिरासतमै रहेका युवाको मृत्यु भएकाले घटना शंकास्पद देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा प्रहरी हिरासतमा रहेका १९ वर्षीय विजय महराको बिहीबार वीरगन्जस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

तिमल्सिनाले स्वस्थ र हट्टाकट्टा महराको निधन अत्यन्त अप्रत्यासित र अस्वाभाविक रहेकाले सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

मोरङ जिल्ला कारागारमा रहेका २६ वर्षका युवा निराजन यादवको पनि बिहीबार नै कोसी अस्पतालमा निधन भएको थियो। तिमल्सिनाले भनेका छन्, ‘कारागारमा रहेका व्यक्तिको निधन झन् शंकास्पद छ। यसबारे राज्यले ठोस छानबिन गर्नुपर्छ।’