भक्तपुरमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।
उच्च रक्तचापको बिरामी रहेकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायतको समस्याका कारण उपचारका लागि नागरिक अस्पताल ल्याएको महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए ।
कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपीडी आज र भोलि दुई दिनका लागि बन्द गरिएको छ ।
भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट दुईजना स्थानीयको मृत्यु भएको थियो ।