कालीकोटमा पहिरोले पाँचवटा घर बगाउँदा तीनजनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार तिलागुफा नगरपालिका-१, नाग्म बजारमा आज बिहान पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको हो ।
आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले पाँचवटा घर पुरेको डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । डीएसपी तिम्सिनाका अनुसार मृत्यु हुनेमा सुभकालिका गाउँपालिका-७ का ४० वर्षीय प्रयाक शाही, उनकी छोरी हिमा शाही र वडा नं.५ का पाँच वर्षीय बालक निराजन शाही रहेका छन् ।
तिलागुफा नगरपालिका-३, का ११ वर्षीय अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिका ३५ वर्षीय पन्न शाहीको भने जिवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको छ ।
पहिरोले घर पुर्दा कोही बेपत्ता भए नभएको भने खुलेको छैन । १० जना भन्दा बढि मानिस घरमै पुरिएको आशंका गरिएको छ ।
घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ । घटनास्थलमा कालीकोट र जुम्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु उद्धारमा खटिएका छन् ।