अवस्था सामान्य हुन्थ्यो भने देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रुलाई आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो ।
अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्र जस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो । जहाँ पाँच महिनादेखि व्यवसायिक उडान भएका छैनन् । अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि ठप्प छ ।
कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको लकडाउन र पछिल्लो पटकको निषेधाज्ञाले ठिक पाँच महिना व्यवसायिक उडान भएनन् । गएको चैत ११ देखि साउन ६ सम्म लकडाउन र त्यसपछि साउनको अन्तिम सातादेखि भदौँ १७ सम्म निषेधाज्ञा थपिएको छ ।
काठमाण्डौसहित देशभर कोरोनाका सङ्क्रमित बढेपछि सरकारले निषेधाज्ञा जारी गरेको हो । यस बीचमा विदेशमा अलपत्र नेपालीको उद्धार र कार्गोका लागि सीमित उडान भए । लकडाउनको पाँच महिनापछि यही भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान हुँदैछन् ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उडान तालिका अनुरुप उडानका लागि आवश्यक सम्पूर्ण तयारी भएको जनाएको छ । पर्यटन मन्त्रालयले यही भदौँ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरिसकेको छ ।
एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुनेछन् । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित १० विदेशी एअरलाइन्स गरी जम्मा १२ एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भदौँ सेप्टेम्बर १ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडान तथा चार्टर्ड उडानको सम्पूर्ण तयारी भएको बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय उडान हुने भएपनि आन्तरिक उडान कहिलेबाट शुरु गर्ने भन्ने अझै निष्कर्षमा पुगिएको छैन । नियमित अन्तर्राष्ट्रिय उडनको तयारीमा विमानस्थल सम्पूर्ण रुपले जुटेको छ ।
त्यसो त, पाँच महिनादेखि नै विमानस्थल सुरक्षित उडानका लागि पूर्णतः तयारी अवस्थामा छ ।
सरकारले सहजै रुपमा कोरोना परीक्षण गर्न पाउने देशबाट नियमित उडान र अन्य देशबाट चार्टर उडान गर्ने शर्तसहित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नबढ्ने गरी अन्तर्राष्ट्रिय उडान हुनेछ । विश्व स्वास्थ्य सङ्गठ(९डब्लुएचओ) र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) मापदण्डमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विमानस्थलले सुरक्षित उडान सञ्चालनका लागि स्वास्थ्य प्रोटोकल लागू गरेको छ ।
विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले डब्लुएचओ र आइकाओको मापदण्डमा रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यात्रुलाई सुरक्षित बनाउन विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको जानकारी दिनुभयो।
विमानस्थलले सुरक्षित हवाई उडानका लागि कर्मचारी व्यवस्थापनदेखि यात्रुलाई सुरक्षित गर्ने सबैखाले तयारी गरेको उहाँले बताउनुभयो । उहाँका विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रियउ डानतर्फ दैनिक १२ देखि १५ हजार यात्रु आवत जावत गर्थे । अन्तरराष्ट्रिय तर्फ आवागमन र प्रस्थान दुबै गरी दैनिक ७० देखि ९० सम्म उडान हुन्थें । त्यस्तै आन्तरिकतर्फ ३०० भन्दा बढी उडान हुने गरेको थियो । अहिले नियमित अन्तर्राष्ट्रियउडान दैनिक दुईदेखि तीन वटा मात्रै हुनेछन् । चार्टर्ड उडान पनि सञ्चालन हुने भएकाले विमानस्थलले आवश्यक जनशक्ति र स्रोत साधनको प्रयोग गर्ने जनाएको छ ।
अन्तर्राष्ट्रिय उडान शुरु हुने भएपछि विमानस्थल तथा वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल पालनालगायत सबैखाले तयारी गरिसकेका छन् । यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विमानस्थलले आवश्यक स्वास्थ्य मापदण्डका आधारमा विमानस्थलमा खटिने कर्मचारीलाई, पीपीई, मास्क, स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
जहाजबाट यात्रु ओर्लेपछि अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्नु पहिले आगमन कक्षको बाहिरपट्टि स्यानिटाइजर बुथ राखिएको छ । यात्रुले भौतिक दूरीका साथ लाइनमा बसेर सेनिटाइज भई आगमन कक्षबाट भित्रिन्छन् ।
अध्यागमन प्रक्रिया गर्ने क्रममा पनि बिचमा पनि स्यानिटाइजर प्रयोग, स्वास्थ्य डेस्कको प्रक्रिया पुरा गरेर मात्रै यात्रु विमानस्थलबाट बाहिरिनेछन् । विमानस्थलले यात्रु आवत जावत गर्ने हरेक स्थानमा दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाएको छ । अध्यागमनदेखि हेल्थ डेस्कको प्रक्रिया पालना गर्दा तथा शौचालय र अन्य स्थानमासमेत स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
यात्रुसँग प्रत्यक्ष साक्षात्कार हुने सबैखाले जनशक्तिलाई विमानस्थलले स्वास्थ्य सुरक्षाका आवश्यक सामग्रीको व्यवस्था गरेको छ । महामारीबाट बचेर सुरक्षित उडानका लागि अन्तर्राष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाका साथ सञ्चालनको तयारीमा छ ।
विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप पनि बदलिएको छ । विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिनेगरी अन्तर्राष्ट्रिय विमानस्थलको संरचना थप्नुका साथै सेवा विस्तार र स्तरीकरणको कार्य भएको हो ।
पछिल्लो पटक विमानस्थलको नयाँ संरचना र उडान व्यवस्थापकीय तयारीबारे पर्यटनमन्त्री योगेश भट्टराईले निरन्तर अवलोकन र निर्देशन दिदैँ आउनु भएको छ । विमानस्थलबाट बाहिरिने क्रममा आकर्षक अत्याधुनिक भौतिक संरचनाले विमानस्थलको सौन्दर्यता थपेको छ । अहिले विदेशबाट आउने यात्रुले टलक्क टल्केको चिटिक्क नयाँ भवनको बाटो भएर बाहिरिनेछन् ।
यही भदौं १६ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनताका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गरिनेछ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । रासस