कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा भीषण पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ भने अझै २ जना बेपत्ता छन् ।
आइतबार बिहान नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । निषेधाज्ञामा घरभित्रै बसेका एकै परिवारका ४ जना पुरिएका छन् ।
पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव फेला परेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
पहिरोमा पुरिएर ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोरा, अर्को एक परिवारका तीन सदस्य, सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाका अनुसार शवहरु सदरमुकाम नल्याउन र घटनास्थलमै पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउन पहल भइरहेको छ ।
खोजीमा सेना, सशस्त्र र नेपाल प्रहरीसँगै स्थानीय पनि लागि परेका छन् ।