logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरीमा कोरोनाको संक्रमण बढ्दै, संक्रमित प्रहरीको संख्या १६२९ पुग्यो


अंकुरण खबर
624
Shares

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अग्रपंतिमा खटिएको नेपाल प्रहरीका कर्मचारी भाइरसबाट संक्रमण हुने क्रम बढ्दै गएको छ ।

भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको निषेधाज्ञा लगायतको कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीहरु आफैं संक्रमित हुने क्रम बढेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहानसम्म देशभर गरी १ हजार ६ सय २९ प्रहरी कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २ जना नायव महानिरीक्षक (डीआईजी) समेत छन् । प्रहरीको प्राविधिक तर्फका (चिकित्सक) डीआईजीसहित १ हजार ६ सय २९ जना कोरोना भाइरसबाट संक्रमित छन् ।

संक्रमण देखिएका प्रहरी कर्मचारीमध्ये प्रहरी प्रधान कार्यालयका मात्रै ९७ जना छन् । यस्तै, काठमाडौं उपत्यकामा कार्यरत ३ सय २२ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार काठमाडौं उपत्यका पछि प्रदेश नम्बर १ मा सबैभन्दा बढी प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेश नम्बर १ मा २ सय ८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै, प्रदेश नम्बर २ मा १ सय २० र काठमाडौं उपत्यका बाहेक बागमती प्रदेशमाा ४३ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशमा ६०, प्रदेश नम्बर ५ मा ५३, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हालसम्म कोरोना संक्रमण देखिएका प्रहरी कर्मचारीमध्ये ६ सय ९३ जना संक्रमण मुक्त भएका छन् । अझै ८ सय ९३ जना सक्रिय संक्रमित छन् ।