नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईंको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।
उचारका क्रममा आज विहान उनको निधन भएको अस्पतालले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी उनलाई भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनी श्वासप्रश्वास र दमको बिरामी थिए ।
उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए । कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका हुन् ।
चापागाईंको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ । उनकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा रहेको छ ।
विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएका चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना रहेका छन् ।