logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ठाउँ-ठाउँमा भारी वर्षा


अंकुरण खबर
1.027K
Shares

दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ।

मौसमविद् समीर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिए। मनसुन न्यून चापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ।

श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको छ। आज मौसम पश्चिमतिर पनि सर्ने क्रममा रहेकाले वाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ।

वाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा बुधबार भारी वर्षाको सम्भावना छ। पश्चिम सर्ने क्रममा भोलि कर्णाली र सुदूरपश्चिमा पनि असर गर्ने श्रेष्ठले बताए।

आज प्रदेश १ को ताप्लेजुङ, धनकुटा, वाग्मती प्रदेशको रसुवा र काठमाडौंमा पानी परेको छ । गोरखाको बारपाक स्टेसनले सबैभन्दा बढी पानी परेको देखाएको छ। आज प्रदेश नं ५ को पूर्वी भूभाग नवलपुर बर्दघाट क्षेत्रमा पानी परेको छ।

कर्णाली र सुदुरपश्चिम प्रदेशमा बुधबार मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना छ। पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने जोखिम कायमै रहेको जनाइएको छ।

नेपालमा प्रायः सेप्टेम्बर २३ बाट मनसुन हराउँदै जान्छ। तर नेपालमा एकै पटक मनसुन घट्ने नभई पाकिस्ताबाट बिस्तारै फर्किँदै जान्छ। रासस