पाँच महिनापछि पहिलो नियमित व्यवसाययिक उडान नेपाल वायुसेवा निगमले गरेको छ । निगमको जहाज काठमाडौंबाट जापानको नरिता गएको हो।
यो जहाज बुधबार राति १ बजे काठमाडौंबाट ४९ जना यात्रु लिएर नरिता गएको हो । जहाज आजै साँझ ५ बजे फर्कने छ । नारिताबाट २२० जना यात्रु ल्याउने निगमले जानकारी दिएको छ ।
पहिलो दिन तीन वटा नियमित उडान हुने विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । उनले भने, “वायुसेवा निगम राति गइसकेको छ । अब साँझ आउने छ । हिमालय एअर चीन जाने र मलेसियाको मालिन्दो एअर दिउँसो ३ बजे आउने उडान तालिका तय भएको छ ।” उनका अनुसार नियमित उडान र चार्टर्ड उडान बुधबारको लागि तीनरतीन वटा तय भएका छन् ।
नियमित उडानबाट आउने यात्रुलाई पनि नेपाली सेनाले नै व्यवस्थापन गर्नेछ । सबै यात्रुलाई सेनाले विमानस्थलबाट सीधै होल्डिङ सेन्टर लैजाने छ । त्यहाँबाट सम्बन्धित प्रदेशसँगको समन्वयमा घर जाने व्यवस्था मिलाउने जानकारी पनि कर्णले दिए ।
सरकारले नियमित उडान खुला गर्दा प्रतिदिन ८०० जनासम्म मात्रै यात्रु ल्याउने अनुमित दिएको छ । स्वेदशी र विदेशी वायुसेवालाई दैनिक एकरएक उडानको अनुमति दिएको भए पनि कुनै दिन भने तीन वटासम्म उडान हुने छ ।
नियमित उडानका लागि सरकराले पीसीआर सहज भएका मुलुकको लागि मात्रै अनुमति दिएको छ । हरेक यात्रुले पीसीआर रिपोर्ट अनिवार्य लिएर आउनुपर्ने छ । पीसीआर रिपोर्ट नभएका र भएका यात्रु आएको अवस्थामा सम्बन्धित वायुसेवाले आफ्नै खर्चमा यात्रुलाई होटल क्वारेन्टिनमा राख्नुपर्ने छ ।