ललितपुरमा भीडबाट कुटिएका ट्राफिक प्रहरी उपचारका लागि अल्का अस्पताल भर्ना भएका छन् ।
प्रर्दशनकारीको आक्रमणमा परेका ती ट्राफिक प्रहरी जवान कमल प्रसाद घिमिरे हुन । रामेछापको चोप्राङमा दरबन्दी भइ हाल पाटनमा खटिँदै आएका उनीमाथि सवारी व्यवस्थानमा खटिरहँदा भीडले आक्रमण गरेको हो ।
उनको टाउको, हातखुट्टा र ढाँडमा चोट लागेको बताइएको छ । निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न खोजेपछि प्रहरी र आन्दोलनकारी युवाहरुबीच झडप भएको थियो ।
पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन् । प्रदर्शनकारीले यता ट्राफिक प्रहरीमाथि कुटपिट गरेका हुन ।
ट्राफिक व्वस्थापनामा खटिएका प्रहरीमाथि कुटपिट भएपछि सुरक्षा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषी जति सबैलाई तत्काल कानुनी दायरामा ल्याउने बताएका छन् ।
कोरोनाको कहर चलिरहँदा परिवारकै सदस्यको निधन हुँदा पनि कोइ छेउ नजाँदा तत्काल आएर आफ्नो ज्यानको बाजी लगाएर शवको दाहसंस्कार गर्ने प्रहरी जवानमाथि निर्घात कुटपिट भएको हो ।