logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङ ढोरपाटन बाढी : मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत


अंकुरण खबर
1.196K
Shares

बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् ।

शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ ।

शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले बताए । रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन् । केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो ।

पहिरोले  सुपुर्दुङका दर्जन बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांश घरको भग्नावशेषसमेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ ।