काठमाडौंको रानीवनमा बिहीबार राति दुई टोलका युवाबीच झडप भएको छ ।
ढुंगेधारा र रानीवनका युवाबीच भलिबल खेल्दा भएको विवादले उग्र रूप लिँदा कुटाकुट भएको हो । ढुंगेधाराका युवा ७/८ वटा मोटरसाइकलमा रानीवनका युवालाई कुट्न पुगेपछि झडप भएको प्रहरीले जनाएको छ ।
घटनामा ४ युवा घाइते भएका छन् । सुदीप रानामगर, सुरज रानामगर, नवराज रानामगर र सुरज थापा मगर घाइते भएका हुन् । घाइतेलाई नजिकैको मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा लगिएकामा अस्पतालभित्रै पनि फेरि भिडन्त परेको थियो।
अस्पतालले विज्ञप्ति जारी गरी आकस्मिक कक्षभित्रै २०–३० जनाको समूहबीच गुन्डागर्दी शैलीमा भिडन्त गरी अस्पतालका सुरक्षाकर्मीसमेत कुटिएको तथा स्वास्थ्य उपकरण तोडफोड भएको भन्दै कारबाही माग गरेको छ ।
