logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीका पाँच स्थानीय तह भए कोरोना संक्रमित मुक्त


अंकुरण खबर
715
Shares

बैतडीका ५ स्थानीय तह हाललाई कोरोना संक्रमित मुक्त भएका छन् ।

जिल्लाका दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा हाल कुनै पनि कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

उनले भने‘सक्रिय संक्रमित नरहेकाले हाललाई यी स्थानीय तह संक्रमित मुक्त भएका हुन्, तर समुदायका सबैको परीक्षण नगरिएकाले संक्रमणमुक्त भन्न सकिने अवस्था छैन।’ जिल्लाका अन्य ५ स्थानीय तहमा १६ जना सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा बढी सिगास गाउँपालिकामा १० जना सक्रिय संक्रमित रहेका जनाइएको छ।

यस्तै, मेलौली नगरपालिका र पाटन नगरपालिकामा २/२ जना, पुर्चौडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। सक्रिय संक्रमित, क्वारेन्टाइनमा नरहेका तथा यसअघि संक्रमित रहेका २ जना र संक्रमितको सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको दोगडाकेदार गाउँपालिकास्थित स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट जनक कलौनीले जानकारी दिए।

मेलौली नगरपालिकाका ३३, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका १० र डिलाशैनी गाउँपालिकाका ८ जना पनि संक्रमित भएका थिए।