कास्कीको पोखरा महानगरपालिकाका ३१ जनासहित गण्डकी प्रदेशका ४ जिल्लामा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान ५:५० बजे जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरामा महानगरपालिका ३१ जना, गोरखाका १८ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १५ जना र तनहुँका ३ जनामा संक्रमण भएको उल्लेख छ ।
पोखरामा थपिएका संक्रमितमध्ये पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्ष उमेरका स्टाफ नर्स हुन् भने ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारीको रूपमा कार्यरत छन् ।
पोखराका अरू संक्रमितमा २५ जना भने पोखरा फुड्स प्रा.लि. मा कार्यरत रहेको तथा २ जना यसअघि नै अस्पतालमा उपचार गराइरहेका एक महिला र एक पुरूष रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ ।
अन्य संक्रमितहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा एकजना, देवचुली नगरपालिकामा १४ जना छन् ।
यस्तै गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा दुई जना र तनहुँको व्यास नगरपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।