कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका बेला सहज रुपमा आवागमन गर्ने भनेर गैर पत्रकार व्यक्तिलाई पनि प्रेस कार्ड बनाएर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले बागबजारबाट तीन जनालाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले २५ वटा नक्कली प्रेस कार्ड समेत बरामद गरेको स्रोतले बताएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन । उनीहरूले प्रतिप्रेस कार्ड ५ सय रूपैयाँ भन्दा बढीमा बेच्ने गरेका थिए। उनीहरूको कार्यालयबाट प्रहरीले ल्यापटप र प्रिन्टर समेत बरामद गरेको छ।
प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जाल फेसबूकको विभिन्न म्यासेन्जर ग्रुपमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क राखेर प्रेस कार्ड बनाइ घरमै गएर बेच्ने गरेका थिए ।