शिक्षा

कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्ने प्रस्ताव

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ ।

कक्षा १२ को परीक्षा सञ्चालन अध्ययन कार्यदलले कोरोनाको जोखिम हेरेर जिल्लागत रुपमा परीक्षा सञ्चालन गर्न सकिने प्रतिवेदन तयार पारेको हो ।

उक्त प्रतिवेदन परीक्षा बोर्डले शिक्षा मन्त्रालयलमा पठाउने तयारी गरेको छ । मन्त्रालयले बोर्डको प्रस्ताव स्वीकार गरेमा कोरोनाको जोखिम कम भएका केही हिमाली र पहाडी जिल्लामा दशैं अगाडि परीक्षा सञ्चालन गर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डले परीक्षा सञ्चालन हुनुभन्दा करीब एक महिनाअघि सूचना सार्वजनिक गर्ने छ । चरणबद्ध कोरोना जोखिम हेरेर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।

कार्यदलले परीक्षा हलमा बढीमा २५ जना विद्यार्थी राख्ने र एउटा बेन्चमा एक जना मात्रै राखेर सञ्चालन गर्न सिफारिस गरेको छ । त्यस्तै अनिवार्य मास्क लगाउने, प्रत्येक कक्षाकोठामा स्यानिटाइजरको व्यवस्था गर्ने र परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्नुपर्ने पनि उल्लेख गरेको छ।

यसअघि बैशाख ८ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने तालिका सार्वजनिक भएको थियो। सरकारले यसअघि कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले लिने निर्णय गरिसकेको छ ।

Comment here