logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि वर्षा


अंकुरण खबर
949
Shares

बुधबार बिहान काठमाडौं उपत्यकासहित देशका केही स्थानमा सिमसिम पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार एक–दुई घण्टादेखि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको हो । ‘यो क्रम अझै केही बेर जारी रहने देखिएको छ,’ मौसमविद् पौडेलले बुधबार बिहान भने, ‘त्यसपछि पानी रोकिने सम्भावना छ ।’

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार फेरि दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ ।

‘यसो भन्नुको अर्थ देशभरकै केही स्थान हो,’ मौसमविद् पौडेलले भने । साथै दिउँसो गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।